दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ इलेक्ट्रिक कार आयोनिक ५ अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । हाल हुन्डाईले इलेक्ट्रिक कार कोना नेपालमा बिक्री तथा बितरण गर्दै आइरहेको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल्सले नयाँ आयोनिक ५ इलेक्ट्रीक ल्याउने तयारीका साथ कार्य भइरहेको जनाएको छ । नेपाली बजारमा हुन्डाईका सवारी निक्कै रुचाइएको ब्रान्डका रुपमा रहिसकेकाले आयोनिक ५ इभीप्रति पनि उपभोक्ता सन्तुष्ट हुने र रोजाइमा पर्ने विश्वास रहेको कम्पनीको भनाइ छ ।
ग्लोबल मोड्युलर आर्किटेक्चर नामक मेड–फर–ईभी प्लेटफर्ममा निर्मित हुन्डाई आयोनिक ५ मा ५८ किलोवाट आवर र ७२.६ किलोवाट आवरको दुईवटा ब्याट्री प्याक दिइएको छ । आयोनिक ५ मा अवस्थित ठूलो ब्याट्री प्याकले ४८१ किलोमिटरको डब्ल्युएलटीपी रेन्ज प्रदान गर्दछ भने अन्य ब्याट्री प्याकले ३८५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । सो इलेक्ट्रिक कारमा ८०० भोल्ट सुपर–फास्ट चार्जिङ टेक्नोलोजीको प्रयोग गरिएको छ जसलाई फास्ट चार्जरको माध्यमले १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ जसले १३४ बीएच पावर र २९५ एनएम टर्क प्रदान गर्नेछ ।
कम्पनीले आयोनिक ५ लाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा बजारमा उतार्ने जनाएको छ । सो कारको फ्रन्टमा हाई एलईडी हेडलाइट र क्वाड डीआरएल दिइएको छ भने यसको रियरमा स्क्वायर आकारको एलईडी रियर लाइट र एक इन्टिग्रेटिड स्पोइलर दिइएको छ । यसमा १२.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम समावेश गरिएको छ । हुन्डाई बोस साउन्ड सिस्टम, वायरलेस फोन चार्जिङ, डिउल जोन क्लाइमेट कन्ट्रोल, भ्यान्टीलेटेड, हिटेड र इलेक्ट्रीकल्ली एड्जस्टेवल सिट, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग र लेवल २ अटोनोमस जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।
हुन्डाई आयोनिक ५ को लम्बाई ४६३५ एमएम, चौडाई २१५२ एमएम, उचाई १६०५ एमएम रहेको छ । यसमा ३००० एमएमको ह्वीलवेस र १६० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा ह्वीलको साइजपनि निकै ठूलो दिइएको छ । सो इलेक्ट्रिक कारमा २० इन्चको अलोय ह्वील समावेश गरिएको छ । हुन्डाईले आयोनिक ५ लाई फक्सवागन आई-४ र टेस्ला मोडल थ्रीभन्दा लामो बनाएको छ । २००० केजी वजन रहेको सो इलेक्ट्रिक कारमा अन्य धेरै फिचरहरु समाबेश गरिएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध यो इलेक्ट्रिक कार नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । डिसेम्बरको अन्त्य सम्ममा अथवा २०२२ को सुरुवात सम्ममा यो नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ । हुन्डाई आयोनिक ५ को नेपाली बजार मुल्य ५५ लाख ९६ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।