महिन्द्रा ग्रुपअन्तर्गतको कम्पनी क्लासिक लेजेन्ड्सले येज्दी मोटरबाइक सार्वजनिक गरेको छ । येज्दीको मोटरसाइकलले २६ वर्षपछि बजारमा पुनरागमन गरेको हो । कम्पनीले येज्दी रोडस्टर, स्क्याम्बलर र एड्भेन्चर गरि तीनवटा नयाँ मोडल बजारमा सार्वजनिक गरेको हो । येज्दीका सो मोडलहरु नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ । यी तीन बाइकमा फरक-फरक विशेषताहरू पाउन सकिन्छ भने यी तीनवटै बाइकको इन्जिन भने एकै प्लेटफर्ममा आधारित छ ।
येज्दीको यी मोडलहरुमा ३३४ सिसी सिंगल-सिलिन्डर, लिक्विड कुल्ड, चार स्ट्रोक डिओएचसी इन्जिन दिइएको छ । यी बाइकहरुमा ६ स्पीडको गियरबक्स दिइएको छ । येज्दी एड्भेन्चरले अधिकतम ३०.२ पिएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ भने येज्दी स्क्याम्बलरले भने २९.१ पिएसको पावर र २८.२ एनएम टर्क जेनेरेट गर्छ र येज्दी रोडस्टरले २९.७ पिएस पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । सो बाइकको अगाडि र पछाडि दुवै पांग्रामा डिस्क ब्रेक पाउन सकिन्छ ।
येज्दी एड्भेन्चरको तौल १९९ केजी, स्क्याम्बलरको तौल १८२ केजी र रोडस्टरको तौल १८४ केजी रहेको छ । सो बाइकहरुको अगाडि र पछाडि दूबै भागमा ट्युबलेस टायर पाउन सकिन्छ । सुरक्षाका लागि बाइकको अगाडि र पछाडि दुबैमा एबीएस फिचर दिइएको छ । फ्रन्टमा टेलिस्कोपिक फोर्कको साथमा क्वाइल स्प्रिङ प्रदान गरिएको सो मोडलहरुको पछाडि ट्विन सक एब्जर्बरसहितको ग्याँस क्यानिस्टर दिइएको छ । बाइकमा १२.५ लिटर इन्धन क्षमताको पेट्रोल ट्यांक रहेको छ ।
येज्दी एड्भेन्चरको भारतीय मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ, येज्दी रोडस्टरको मूल्य १ लाख १८ हजार १४२ रुपैयाँ र येज्दी स्क्याम्बलर मूल्य २ लाख ४ हजार ९ सय रुपैयाँ निर्धारण गरेर भारतीय बजारमा बिक्री समेत सुरू गरिएको छ । नेपाली बजारमा यी बाइकहरुको रोयल इन्फिल्ड, केटिएम, होन्डा लगायत ब्रान्डसँग प्रतिस्पर्धा हुनेछ । कम्पनीले यसको डेलिभरी नेपाली बजारमा पनि छिट्टै गर्ने जनाएको छ ।