जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतमा नयाँ मोटरसाइकलको पेटेन्ट दर्ता गरेको छ । कम्पनीले नेकेड डिजाइनमा सीबीएफ १९० आरको पेटेन्ट दर्ता गरेको हो । १५० सीसीबाट अपग्रेड गर्ने ग्राहललाई लक्षित गरेर यो मोटरसाइकल ल्याउन लागेको कम्पनीले जनाएको छ । यससँगै होन्डाको भारतीय बजारमा २०० सीसी सेग्मेन्टमा सीबीएफ पहिलो स्ट्रीट फाइटर मोडल हुने छ ।
सो बाइक उक्त रेन्जमा उपलब्ध स्ट्रिट फाइटर मोडल हो, जसमा १८४.४ सीसी सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । यसले १६.८६ पीएस पावर र १६.३ एनएम टर्क जेनेरेट गर्छ । सो नेकेड स्ट्रिट फाइटर बाइकमा १२ लिटरको इन्धन ट्यांकी छ भने यसको टप स्पिड १०७ किलोमिटर प्रतिघण्टा हुने बताइएको छ । यसमा ५ स्पीडको गियरबक्स रहने छ ।
सो बाइकका अन्य आकर्षक फिचरहरुमा गोल्डेन कलरको अपसाइड डाउन फोर्क्स, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, पेटल डिस्क ब्रेक, हजार्ड लाइट, एबीएस र ज्याजी स्टाइलिङ आदि छन् । कुनै देशमा डिजाइन पेटेन्ट दर्ता गर्दैमा डोमेस्टिक बजारमा सो बाइक बिक्रीका लागि उपलब्ध नै हुन्छ भन्ने ग्यारेन्टी नभए पनि यसले सम्भावना भने देखाउछ । यसको अर्थ कम्पनीले छिटो वा ढिलो कुनै पनि समयमा सो बाइक उत्पादन पनि गर्न सक्छ ।
होन्डाले केही दिन पहिले सीबीएफ १९० एक्स मोडल चीनमा लन्च गरेको थियो । सो बाइक चाइनिज बजारलाई मात्र लक्ष्यित गरी उपलब्ध गराइएको हो । भारतमा १९० सीसी सेगमेन्टमा भएको बाइकको कमीलाई अब नयाँ बाइकले पुरा गर्ने अपेक्षा गरिएको छ । यो मोटरसाइकलले टीभीएस अपाचे आरटीआर १८०, आरटीआर २०० एनएस २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।