टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले हालै प्रिमियम एसयूभी टाटा ‘एचफाइभ’ सार्वजनिक गर्यो। सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एचफाइभ सार्वजनिक गरेको हो। भारतमा ‘ह्यारियर’को नामले परिचित ‘एचफाइभ’ अटो शोभरि नै चर्चाको केन्द्रमा रह्यो।
सार्वजनिक भए देखिनै एचफाइभ को इन्क्वायरी र सेल्स उत्साहजनक रहेको कम्पनीले जनाएको छ। ल्यान्डरोवरको डिएट प्लेटफर्ममा निर्माण गरिएको टाटा एचफाइभ क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त गाडी हो। ६ स्पिड म्यानुअल ट्रान्समिसन एचफाइभले ३७५० आरपिएममा १४० पिएस पावर र १७५०–२५०० आरपिएममा ३०५ एनएम टर्क जेनेरेट गर्छ।
हाल एचफाइभ एक्सइ, एक्सएम, एक्सटी र एक्स जेड गरी ४ ओटा भेरियन्टमा उपलब्ध छ। सुरक्षाको लागि यसमा ६ ओटा एयर ब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, कर्नर स्ट्याविलिटी कन्ट्रोल, इलेक्ट्रोनिक ट्र्याक्सन कन्ट्रोल लगाएतका फिचर्स छन्। त्यस्तै यसमा पुस बटन स्टार्ट-स्टप, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टीफङ्सन स्टेरिङ, हाइट एड्जस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू छन्। यसको भेरियन्ट अनुसार फिचर्सहरुमा पनि केही बदलाव गरिएको छ।
कम्पनीले यसको मूल्य एक्सइको ५६ लाख ५५ हजार, एक्सएमको ६४ लाख ५५ हजार, एक्सटीको ६९ लाख ५५ हजार र एक्स जेडको ७४ लाख ५५ हजार निर्धारण गरेको छ। तोकिएको मूल्यमा कम्पनीले दसैं तिहारको लागि १ लाख छुटको व्यवस्था गरेको छ। ५ सिट क्षमताको एचफाईभको ग्राउण्ड क्लेयरेन्स २०५ मिलिमिटर छ भने फुल ट्याङ्क इन्धन क्षमता ५० लिटरको छ। यसको बुट स्पेस ४४२ लिटरको छ र पछाडिको सिट फोल्ड गरेर ८१० लिटर सम्म बनाउन सकिन्छ। कम्पनीले एचफाइभमा ३ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी दिने जनाएको छ।